कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Tuesday, June 24, 2008

कानूनमा केडिया पुरस्कार

काठमाडौं । कानुनी क्षेत्रमा अहिलेसम्मकै ठूलो धनराशीको पुरष्कार स्थापना गरिएको छ । गत जेठ ३० गते कानून व्यवसायी क्लब र स्व शंकरलाल केडिया फाउन्डेसनबीच पुरस्कारबारे सम्झौता भएको क्लबका सचिव प्रकाश वस्तीले जनाउनु भयो । पुरस्कारको राशी ५१ हजार रुपियाँ छ । उक्त पुरस्कारले कानून व्यवसाय कानूनी साहित्य सिर्जना कानून शिक्षण र न्याय क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने एक व्यक्तिलाई प्रत्येक वर्ष सम्मान गरिने भएको छ । कानून क्षेत्रमा यतिको परिणाममा रकम समावेश भएको यो पहिलो पुरस्कार हो । पुरस्कारबारे क्लबले विभिन्न चार शर्त तोकेको छ । पुरस्कारका लागि ५० वर्ष उमेर नाघेको व्यक्ति हुनुपर्ने न्याय र कानूनको क्षेत्रमा कम्तीमा २० वर्ष योगदान हुनुपर्ने पुरस्कार पाउने व्यक्तिले न्याय र कानूनको क्षेत्रमा तीनवटा उल्लेखनीय कार्य गरेको हुनुपर्ने र प्रस्तावित व्यक्ति वहालवाला न्यायाधीश हुन नहुने जनाइएको छ । पुरस्कारका लागि छनोट समिति गठन हुनेछ । यसैगरी कानून व्यवसायी क्लबले प्रत्येक दाताले दिएको रकम एक लाख रुपियाँ कोषबाट वर्षभरिका पत्रिकामा प्रकाशित विभिन्न विधाका लेखमध्ये कुनै एकलाई पुरस्कृत गर्ने निर्णयसमेत लिएको छ । एक लाख रुपियाँको अक्षयकोषलाई बैंकमा राखी त्यसबाट प्राप्त ब्याजलाई पुरस्कारका रुपमा प्रदान गर्ने क्लबले जनाएको छ । प्रत्येक वर्ष फागुन महिनाको १५ गते सो पुरस्कार प्रदान गरिने भएको छ ।

साभार जनधारणा

Friday, June 20, 2008

श्री ५ राजेन्द्रको कानूनी बन्दोवस्त

स्वास्ति श्री गिरिराज चक्र चूडामणि नर नारायणेत्यादि विविध विरुद्धावली विराजमानमानोत्तत श्री मन्महाराज धिराज धिराज श्री श्री श्री महाराज राजेन्द्र विक्रम शाह बहादूर सम्सेर जङ देवानां सदासमर विजयिनाम…………॥

आगे चार अदालतमा साल वसालका अख्तीयार कप्तान सर्दार डिठ्ठा विचारी अर्जवेगी श्रेस्तादार रकमी गैर्ह प्रति अदालतमा भरमुलुक्को फिरादि आयाको र भारदार रकमदार अमालीहरुले अंन्याय गर्याको छ भनी दुनीयांदार रैती गैर्हले विजाइ गर्यो भनि कराउन आयाको कुरा फेराद सुनी दोहोरो झ्गरिया जोरी कसैको पनपछे नगरि कसैको मोलाहिजामा नपसि घुस रीसिवत् नषाई बन्देज बमोजीम वाजवी निसाफ पारि छिनी दिनु दुवै झ्गरिया जोरी निरोपन् गर्दा तेस्तामा ठहर्याको कुरामा श्रेस्तामा नचहल्यालाई र अरु मामिला मुद्दाका तपसिल बमोजिमका वंदेज बमोजीम गर्नु निसाफ गर्दा मोहवदमा लागि निसाफ छोडी रकमदार र झ्गरियालाई काषि च्यापि श्रेस्ता र निसाफ छाडी काम गर्या झ्गरा निछंनामा पसि रकम्दार दुनिया झ्गरियालाई दुषदि गलाउनामा पस्या अंन्याय गरि वेजायी विद्दत गर्यो भनी रकमदार दुनियां झ्गरियाले हाम्रा हजूरमा अर्जी चर्हाई नालीस गर्न आया दोहोरा कुरा सुनी पुर्पछे गरी वक्सौंला कप्तान डिठ्ठा विचारी अर्जवेगी श्रेस्तादार रकमीहरुले अंयाय गरी श्रेस्तामा वेजायी विद्दत् विहरुमत गर्याको ठहर्या ताकसेर माफिक डंड सजाई होला नीसाफले ठहराई छिन्याका कुरामा र श्रेस्तामा नचर्ही हिमाईत पछि लागी कसैको आड्ली लाग्याको दाम काम वापत नबुझाई अघि नीसाफ पारी छिन्याको झ्गरा उलटाउनामा पस्न्यालाई र आड् दि रकमी झ्गरियालाई अडाउनालाई दोवर डैंड सासना होला पनपछे गरि रकम्दार झ्गरियालाई कसैले न अठ्याउनु वेजायी विद्दत कसैले नगर्नु भनी बन्देज वाधी बक्स्यौं हाम्रा हकुम प्रमानगी नभै दफदरषाना कुमारी चोकमा पर्याको झ्गरा अदालतबाट नसुंनु अदालतमा पर्याको झ्गरा दफदरषाना कुमारी चोकबाट नसुंनु हामीले वन्देज वाधी मोहर गरि बक्स्याको बन्देज जो नाघौला भारि डंड सासना होला…………॥

तपसिल्

श्रेस्तामा नचर्हया विडिन हाली ठाडो हुन्या श्रेस्ता चाहिन्या अघि देषि चली आयाको विगो नराषि हेमाइत गरि अडिन्या झ्गरियालाई मुद्दा अनुसार १५।२० दिन सम्म पियादा लाउनु पियादा लाउदा श्रेस्तामा चर्हेन भन्या दिन २५ मैन्हा १ सम्म छेकथुन गर्दा पनि श्रेस्तामा चर्हेन भन्या घर षेत लहना नगदि जिन्सी जो छ झ्गरा छिंन श्रेस्तामा नचढंज्याल सम्म चाहिन्या विगो जफत गरी थाती राषि दिनु झ्गरिया श्रेस्तामा चर्हयो विडि हाली विगो राष्या भन्या थाती राष्याको जगा छाडी दिनु विगो राषिनिसाफ्मा नचिर्ह झ्गरा नछिनी भागी गयो भन्या रहयाको विगो भराई दि दसौध लिनु…………॥१

दुवै घर झ्गरियाले श्रेस्तामा दि श्रेस्तादारले वकिसक्या पछि अडिन्यालाई श्रेस्ताले वक्या वमोजीम झ्गरा छिनी दि अडिन्यालाई मामीला अनुसार तिक्सर गर्नु…………॥२

जगा जमीन्का कुरामा साधमा नमीली वाझि आयाको कुरामा दुवै थरका पत्र पात्र हेरी पत्र बमोजीम कागज छुट्टाई दि रह्या हाम्रा हजूरमा दाषील गर्नु…………॥३

गुरु प्रोहित चौतारिया काजी कप्तान च्यातिएको… सुब्बा सुवेदार गैर्हका षवार वेष वीर्ता गुठि छाप छ पेंला ईजारा ठेड भित्रका मानीस्ले अमाल्मा कुरा नछिनी अदालतमा आई फिर्याद गर्याका कुरामा दोहोरो मानीस झिकि जस्ताको तस्तो निसाफ षारी छिनी दिनु हाम्रा हुकुम बाहेक झ्गरिया पनि सोषि नदिनु आमदामी फिर्ता गरिनदिनु…………॥४

चोरले चोरि वेच्याको माल धनी ठहर्याको माल ल्याउनु नसक्या मालका धनीले गावा वमोजीम नभराउनु चोर संग किन्याको मोल असुल गरि भराई दिनु लषसष सास्ति सासनाले न ठहर्याको मालमा षोजि नक्सनु चोरलाई तिक्सर माफिक सजाई गरी छोडी दिनु…………॥५

बाबु मर्दासाहु धेर छ भनी सष्यात् छोराले चार दाम राषि अपुताली नछोड्नु चार दाम नलिनु साहुले पनी सकस्नगर्नु आसामी पल्हाया पछि लिनु…………॥६

सहोदर भाइले जुठो पिंड छुटिन्या फुकियाको चार दाम नराषनु नलीनु…………॥७

बाबु छदै अंस दियन भनी छोराले फिर्याद गर्नु आया नसुंनु बाबुको षुसिले छोराहरुको अंस छुट्टाई दिंछु भनी कराउनु आया अंस छुट्टयाई वाडि दिनु…………॥८

पुराना जगा जीमीन्को झ्गरामा फिर्याद पर्या देषिको विगो समाई पुर्पक्ष हेरि ठहर्याको भर्नु भराउनु गर्नु फिराद पर्या देषि अघिको विगो नसमाउनु नषोजनु…………॥९

साहुको नाउमा असामीले फिराद गरि पक्राई विगो नराषि असामी भागी दव्यो भन्या साहूका तमसुक बमोजीमका रुपैया मध्ये भया गंन्या गंन्या न भया जोषन्या जोषन्या नभया भन्र्या भन्र्या नभया मोलन्या जफत गरि भराई दिनु इ ४ रै रकम असामीका घरबाट निस्केन भन्या पल्हाया पछि लिनु भनी असामी कायेम गरी पठाई दिनु…………॥१०

असामीको नाउमा साहुले फिराद गरी पक्रायो भन्या परापूर्व देषि चली आया बमोजीम भया माहाजन्ले मोल्याको सोर्ह गंडि उठ्याको माल् ली मोलाई भराई दिनु नभया पल्याहा पछि लिनु भनी दुवै घरको चीत्त बुझाई कायेम् गरिदिनु अरु जुवामा साहु वसि व्याज षायाको रुपैयामा साल वसाल व्याज दि साहुको चीत्त बुझाई राषदा राषदै मेरा सावा रुपैया स्मेत नभै भयन भनी साहुले सकस गरी फिराद गर्नु आयाको र साल वसाल व्याज दि चीत बुझाई राष्याको रुपैंयामा सावा स्मेत नभै भयन भनी साहु रिनी वाझ्यिका कुरामा निस्क्या वमोजीम महाजनले मोल्याको १६ गंडी उड्याको माललि कचहरीमा मीलाई भराई दिनु माहाजनले मोल्याको माल पनी लियेन र किस्ताकिस्ता गरी असामी पल्हाया पछि पनी लीदौन भनी अडीयो भन्या मोल्याको माल ढिसा लाई दसौध विसौध लीनु साहुरिनीको मुष नमीली विगो रह्या देषिको ब्याज नलाउनु ब्याज चािहंछ भने अडीन्यालाई ठेकि भराई दिनु…………॥११

बोक्स्याराका कुरामा धामी झाक्री कचहरीमा आई ठहराई दिल वसिनु सक्छ भन्या न्यादिनु अरु दुनियादारले बोक्सी भन्यो भनी बोक्स्यारालाई माग्न्याले फिराद गर्नु आया धामी झाक्री कचहरी मा नल्याई वोक्स्यारो मात्र लाउन्यालाई पाषै ठोकी डंड गर्नु…………॥१२

सबै जातका वापतीहरुमा वापती २ मध्ये १ भाग्यो १ पक्रीयो भन्या कायेल भया वमोजीम लेषि ली जात अनुसारको तिक्सर गर्नु पछि भाग्न्या मानीस आई होइन भनी निसाफ मागन आया अघि छिनि सक्याको कुरा थामी पछिको फिर्याद नसुंनु वापती दुवै भागी गयो भन्या षत्छित् अनुसारको तिक्सर गरि भात पानीमा पर्या लाई धर्माधिकार संग पतीया ली प्रायश्चीत गर भनी दिनु…………॥१३

मंसिर पुष माघ फागुण ४ महिनामा पानी नहालनु अरु न्याय हुंछ सहेली गाग्री भदौमा नहालनु अरु न्याय पनी केहि नहाल्नु अषाढ ज्येष्ठ असौज कार्तिकमा कराहि नदिनु अरु न्याय हुंछ चैत्र श्रावणमा सबै न्याय हुंछ…………॥१४

नेपाल्या राजाका पालामा पार पुछिन्न सुक्री विक्री भयाका जगा जीमीन्मा हामी सहोदर भाइ हुं साछि दाम् हाली दाम् गौरापाती षायाको छैन पानी हाल्याको पनि छैन यो जगा जीमीन्मा पर्याको रुपैंयाले जगा फिर्ता गरौं भनी फिराद आयाको कुरा नसुंनु हिजोको सुक्रि विक्रीया पछिन् नथामी दिनु…………॥१५

कारोवार गन्र्या साहुले दाम षाया दसौध व्याज षानु अनाज व्याज षाया रुपैयाको पाथी १ धान षानु व्याजको तमसुक लेषि व्याज नषानु दसौध व्याज र रुपैयाको पाथी १ धान भंदा बढ्ता व्याज षायो भनी असामीले फिराद गर्न आया साहु असामी जोरी बढ्ता व्याज षायाको ठहर्या साउमा मीन्हा गरी बढ्ता षानु न जान्या वापत डंड गर्नु…………॥१६

मेरो जगा हो भनी कचहरी गरी जगा थाती राषि भागी लुक्यो भन्या जगा थाती राख्याको अघि बेहोन्र्या लाई फोइ चलन गराइ दिनु…………॥१७

कसैको घरका चाकरले म अजा पुत्र हौं करिया होइन भनी कराउन आयो भन्या अजा पुत्र हौं भंन्याको लाग्याको दाम काम म बुझांउला भंन्या जमानीली पुर्पक्ष गरी अजा पुत्र ठहर्यो भन्या करिया हो भंन्या लाई डंड गर्नु अजा पुत्र ठहरेन भन्या करिया ठहरियो भन्या अजापुत्र हो भंन्यालाई डंड गरी जीयका धनीलाई जीय वेहोराई दिनु…………॥१८

जमीन जगाको लीन दिनको कुरामा हाम्रा अम्वल भया देषि अघिको पुरानु कुराको फिराद गर्नु आयो भन्या २ घर जोरी यती वर्ष सम्म यो वेहोराले षायाको हो भन्या षायाको जमान वंदी र यसो वेहोरा संग मिलि षायाको हो भंन्या दुवै घर संग जमान वंदी लेषाई ली हाम्रा हजूरमा विंति गरी हुकुम भया माफिक सुंनु हाम्रा हजुरमा विंति नगरी आफना मुनासिव सग नसुंनु…………॥१९

देवर सग विग्रन्या स्वास्नीहरुलाई जात अनुसार मासन्या जातलाई मासनु डंड गन्र्या जात लाई डंड गर्नु पतीत गन्र्या जातलाई पतीत गर्नु…………॥२०

पल्टन कंपनी गैर्हका कप्तान कुंर्गदान सुवेदार जमादार मेजर कोत्या २ जीटन् हुद्दा सिपाही गैर्ह भर मानीस के अदालतबाट कसैको कुरामा पंच वदि वोलाहटको पुर्जी आयो भन्या कचहरि गै दोहोरो कुरा बुझि काषिर पोल्टोन गरी जस्तोका तस्तो नीसाफ् वोली अदालतका अख्तीयार संग वुझ् मिलाई झ्गरा छिनी आउनु कचहरी वाट नवोलाई आफना मुनासिफ संग आफना मानीसको झ्गरा गै परी पंचा गरी गुठ गफडा नगर्नु जस्ले कचहरी दुली काषि पोल्टो गरी आफना र विराना गरी झ्गरा विठोली हुल गर्ला तसलाई जात अनुसार सासना होला…………॥२१

चार अदालतमा पर्याको झ्गरा अदालतै मा छिंनु अरु कचहरिमा पर्याको झ्गरा विहं छिनु हाम्रा हुकूम बाहेक झ्गरा नसार्नु अमाली विचारीले बेजाई गर्यो भनी कराउन आया झगरिया झिकि नीरोपन् गरी दिनु विना हाम्रा हुकूमले झ्गरिया नसौपनु…………॥२२

पाचुके गर्नु हुन्या नेवार नामाको लोगन्या स्वास्नी छुट्टिनु पर्यो भन्या इटा चपली बाट र लमि भया लमिको हातबाट लमि नभया सासु ससुरा लोगन्या को हातमा सुपारी दि लिन्याको कुरो ली दिन्या कुरो दी पाचुके गर्दा रहयाछन आजकाल लोगन्या स्वास्नी वाझा वाझ् गर्दा टकिया मनी झ्यालमा षोपामा जाहा ताहि सुपारी राषि पाचुके गरी आयां भनी अंत पोइलो जादो रहेछ र पाचुके को वेश्रेस्ता पर्न जांदा अब उप्रान्त पाचुके गर्नु पर्यो भन्या परापुर्व देषि चलि आया बमोजीम लमि भया लमिका हातबाट पाचुके गराउनु लमि नभया रित बमोजीम् सुपारी दिन पठाई पाचुके गर्नु तै भयन भन्या इटा चपलीमा गै पाचुके गर्नु येति नगरी वे श्रेस्ता संग जाहाताहि सुपारि राषि फाली नआउनु यस्ता वे श्रेस्ता गरि पाचुके गरि स्वास्नी तुल्याउन्यालाई चली आया वमोजीम मिसाषत् को डंड गर्नु…………॥२३

नेवार नामाको अपुताली पर्दा लोगन्याको सत्यध्याई रहयाका स्वास्नी छदै जो भयाको अपुतालि उठाई नलिनु धन अनुसार षानु लाउनु पुगन्या गरी जिउनी र वस्नलाई घर पर सारि दि वाकि रहयाको अपुताली षान्याले लिनु…………॥२४

सवाल वाहेक अरु परि आयाको मामीला आफुले आटि छिंनु सक्या सम्मको निसाफ पारी छिंनु नसक्या को अलमल पर्याको कुरा हाम्रा हजुरमा साधी छिंनु…………॥२५

अदालतमा टुङ्ग्याको झगरा को वेहोरा वाल रसिदले षन्या षर्दार वहिदारले रसिद दिदा रसिद अनुसार दस्तुर लिनु दिनु…………॥२६

कानून अङ्क ६८ बाट

Sunday, May 25, 2008

Thursday, March 20, 2008

राष्ट्र बैकको गर्भनर भष्टचारी रहेको ठहर

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर विजयनाथ भट्टराईसमेत दुई उच्च अधिकारीले सरकारी सम्पक्ति हिनामिना गरी भ्रष्टाचार गरेका ठहर्याउदै सर्वोच्च अदालतले विगो बमोजिम करीव ३५ लाख रुपैया जरिवाना गर्ने फैसला गरेको छ ।


सर्वोच्च अदालतका माननिय न्यायाधिश ताहिर अलि अन्सारीको इजलाससले गएको चैत ५ गते मगलवार यो फैसलासुनाएको हो । अदालतले विश्व बैकको सहयोगमा साचालित आर्थिक क्षेत्र सुधार परियोजनाका लागि परामर्शदाता नियुक्त गर्ने क्रममा अनियमित भएको भनी यो बिषयको उठान भएको हो । सर्वोच्च अदालतका एक न्यायाधीशको इजलासले गरेको यो फैसला भने विशेष अदालत कै निर्णयसरह मानिनेछ ।


अख्तियारले ९ महिना अघि भट्टराई र कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधान विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले आर्थिक सुधार परियोजनाका नाममा नक्कली संस्थालाई परामर्शदाताका रुपमा खडा गरी १९ करोड ५३ लाख १९ हजार पाँचसय ५५ रुपैया प्रदान गर्ने कार्यमा संलग्न भएर भट्टराई र प्रधानले गम्भीर अपराध गरेको अभियोग लागेको थियो । उक्त कार्यबाट राष्ट्र बैकलाई २ करोड ४५ लाख ४६ हजार दुई सय ५४ रुपैया नोक्सानी भएको जनाईएको थियो । यसका लागी सम्झौताको एक पक्ष भनिएको श्री लंकाको केपीएमजी संस्थाका प्रतिनिधिको किर्ते हस्ताक्षर गरी कागजात बनाई रकम हिनामिना गरेको अभियोग लगाईएको थियो । तर सर्वोच्चको यो फैसलामा परामर्शदातासँगको सम्झौता नियमअनुसार नै भएको उल्लेख छ । तर उनीहरुले परामर्शदाता संस्थालाई दिएको भुक्तानी बदनियतपूर्वक रहेको र त्यसबाट नेपाल राष्ट्र बैकको सुदृढीकरण आयोजनाका लागी प्राप्त रकम क्षति भएकोले त्यो क्षति र हानि नोक्सानीमा भ्रष्ट्राचार निवारण ऐन बमोजिमको सजायभागी रहेको ठहर गरेको छ । भष्टाचार निवारण ऐन २०५९ को दफा ८(३) अनुसार कसुर गरेको हुँदा दुवै प्रतिवादीलाई विगोबमोजिम जरिवाना हुने ठर्हछ भनिएको छ ।


न्यायाधीशले गर्नुभएको फैसलामा भुक्तानी दिनुपुर्व अनुदानदाता विश्व बैकको सहमति लिनु पर्नेमा सो समेत नलिएकोले पनि बदनियत देखिएको उल्लेख छ ।


परामर्शदाता तर्फ ६४ हजार १३९ अमेरीकी डलर भुक्तानी दिने निर्णय गरे पनि ५१ हजार ५३८ अमेरीकी डलर मात्र भुक्तानी दिएकोले सो भुक्तानी सम्झौताको स्पेशल कन्डिसनको दफा ६(४) को प्रत्यक्ष उल्लघन हुने गरी कार्ययोजना वेगरवेगर दिएको जनाइएको छ ।


यसरी काम पुरा नगरी भुक्तानी दिएको ५१ हजार ५३८ अमेरीकी डलर अर्थात करीव ३५ लाख रुपैयालाई विगो कायम गरी सोही बमोजिम प्रतिवादीद्वय भट्टराई र प्रधानबाट विगो उठाई सोहि विगो बरावर जरीवाना पनि हुने फैसला भएको कुरा जनाइएको छ ।


राष्ट्र बैकले केपीएमजीसँग गरेको सम्झौतालाई काल्पनिक भन्न सकिएन तर विश्व बैकको विकृतिबिना नै केपीएमजीलाई अग्रीम भुक्तानी गरेको रकम अनियमित भएको देखीन्छ फैसलामा उल्लेख गरीएको छ । तत्कालीन गभर्नर भट्टराई र निर्देशक प्रधानले काल्पनिक संस्थालाई परामर्शदाताका रुपमा खडा गरी वैदेशीक सहयो स्वरुप प्राप्त १९ करोड ५३ लाख रुपैया जालसाजीपूर्ण तवरले प्रदान गरी आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०६४ असार २५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतमा गत फागुन १५ गते मुद्दा सुनुवाई हुदा तीन न्यायाधीश वीच राय वाझिएको थियो । विशेष अदालतका अध्यक्ष मा. न्यायाधिश भुपध्वज अधिकारीले प्रतिवादी दुवैलाई सफाइ मा. न्यायाधिश चोलेन्द्र शमसेर जवराले जनही एक वर्ष कैद सजाय र मा. न्यायाधिश कोमलनाथ शर्माले थप प्रमाण बुझ्न बाँकी रहेको राय दिनु भएको थियो । त्यसरी तीनजना न्यायाधीशको तीन थरी फैसला आएपछि त्यसको छिनोफानो गर्नका लागी दुई साता अघि यस मुद्दालाई सर्वोच्च अदालत पठाईएको थियो ।


भ्रष्ट्राचार प्रमाणीत भएपछि यी दुवै पदाधिकारीहरु पदमुक्त भएका छन तर यो अन्तीम फैसला होइन धरौटी राखेर पूनरावेदन गर्ने अवस्था छ - कानूनविद्हरु भन्दछन ।

औषधीमा हुने ठगी रोक्न अदालतको आदेश


मानव जीवनका लागी अतिआवश्यक हुने औषधीको मुल्य नीती बनाउन र मुल्य निर्धारण गर्न एक अध्ययन पाच सदस्य समिति गठन गरी प्रतिवेदन तयार गर्न बुधवार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । माननिय न्यायाधीश बलराम केसी र तपबहादुर मगरको संयुक्त इजलासले चैत्र ६ गते उक्त आदेश दिएको हो ।


औषधहरुको मुल्य नियमित गर्न अदालतले पहल गरोस भनी उपभोक्ता हित संरक्षण माचका महासचिव ज्योति वानियाद्वारा सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिटनिवेदन दायर गरिएको थियो । सो रिटमा औषधी उत्पादक व्यवसायीले ६० देखी पाच सय प्रतिशतसम्म बोनस लिएर उपभोक्ता ठगेकोले त्यसलाई तत्काल रोक्न माग गरिएको छ ।


यो विषयमा कुनै एक निकायबाट मात्र समाधान नहुने भएकोले विस्तृत रुपमा अध्ययन गर्नु पर्ने अबस्था आएकोले एक समिति गठन गरीनु पर्ने र सो समितिमा नेपाल मेडिकल काउन्सीलको उच्च अधिकारी संयोजक हुनु पर्ने र अन्य सदस्यमा स्वस्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागका प्रतिनिधीहरु हुनु पर्ने छ फैसलामा जनाइएको छ । सर्वोच्च अदालतले समिति गठन भएको ६ महिना भित्र प्रतिवेदन तयार गरी सरकार र अदालतमा बुझाउन पनि आदेश दिएको छ ।

Tuesday, March 11, 2008

आनन्दीदेवी समुह न्याय पाउन अदालतको शरणमा

सर्वोच्च अदालतले आनन्दीदेवीद्वारा नेतृत्व गरिएको नेपाल सदभावना पार्टीलाई संविधान सभाको सन्दर्भमा समानुपातिक प्रणालीको लागी पेश गरेको बन्दसुची किन अस्वीकार गरेको भनी जवाफ दिन निर्वाचन आयोग लगायत अन्य निकायलाई आईतवार आदेश दिएको छ ।


सो रिट निवेदन माथि प्रारम्भीक सुनवाईपछी माननिय न्यायधीश मिनबहादुर रायमाझीको एकल इजलासले उक्त आदेश दिएको हो । बन्दसुची अस्वीकार गरेको सम्बन्धमा पर्याप्तकारण र आधार सहित सातदिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । यसै गरी वर्तमान सात दलको भागबन्डा सरकारमा सदभावना पार्टी आनन्दीदेवी का भागबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री बनेका श्यामसुन्दर गुप्तालाई अब मन्त्री पदबाटै हटाउनु पर्ने वा नपर्ने सम्बधमा पनि प्रधान मन्त्री तथा मन्त्री परिषद्को कार्यालय जवाफ माग गरेको छ ।


निवेदकको माग बमोजिम मन्त्री पदबाट के कति कारणले हटाउनु नपर्ने हो भनी लिखित जवाफ पेश गर्न मन्त्री गुप्ताको नाममा पनि अदालतले आदेश दिएको छ । रिट निवेदनमा विपक्षी बनाईएका सवैको जवाफ आएको भोलीपल्ट सुनवाईका लागी पेशी चढाउन समेत अदालतले आदेश दिएको छ । सो पेशीमा सदभावना पार्टीले माग गरेको अन्तरिम आदेश हुन सक्ने वा नसक्ने निर्णय हुनेछ ।


सदभावना पार्टी आनन्दीदेवी वास्तविक हकदार आफुहरु रहेको दावी गदै सदभावना पार्टीकी राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंह पेश गरेको बन्दसुचीलाई मान्यता दिन माग राखी पार्टीका कोषाध्यक्ष दावी गर्ने तेजकान्त झाले गएको २४ गते शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नु भएको थियो । निवेदक झा ले नै गुप्तालाई सदभावना पार्टीको सहमति विपरित मन्त्री पदमा राखीएकोले तत्काल मन्त्री पदबाट मुक्त गर्न माग राखी अर्को छुट्टै रिट दिनुभएको थियो ।


गएको फागुन १९ गते सदभावना पार्टी आनन्दीदेवी को नामबाट बन्दसुची दर्ता गर्न जादा विपक्षी मध्येका निर्वाचन आयोगले सदभावना पार्टी आनन्दीदेवी को नामबाट गते ८ गते नै बन्दसुची पेश भईसकेको भनी सो बन्दसुची दर्ता गर्न नमाने कारण विवाद बढी निर्वाचनमा सहभागी हुनबाट बन्चीत गरेको भनी यो रिट निवेदन परेको हो ।


सो रिटको सुनवाईमा वरिष्ट अधिवक्ता कृष्ण प्रसाद भण्डारी , अधिवक्ता मिथिलेश कुमार सिंह र नारायण झा अरविन्द कुमार सिंह लगायतका कानून व्यवसायीहरुले बहस पैरवी गर्नु भएको थियो ।